काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई राष्ट्रिय चुनौतीका रूपमा लिँदै फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाको विस्तारमा सरकार तयार रहेको बताएका छन् ।

फोहोरबाट ऊर्जा उत्पादनसम्बन्धी परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापन स्थानीय तहको मात्रै जिम्मेवारी नभई सरकार, स्थानीय तह र नागरिक सबैको साझा दायित्व भएको बताए ।

ADVERTISEMENT

उनले काठमाडौं उपत्यकाका नदी तथा खोलामा बढ्दो प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताए । विशेषगरी बाक्लो जनघनत्व भएका क्षेत्रमा फोहोर व्यवस्थापनमा लापरबाही हुँदा संक्रमणको जोखिम व्यापक रूपमा फैलिन सक्ने उनको भनाइ थियो ।

ADVERTISEMENT

मन्त्री श्रेष्ठले फोहोरबाट निस्कने मिथेन ग्यासलाई बायोग्यास प्लान्टमार्फत ऊर्जामा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै यस्ता परियोजनालाई वातावरण संरक्षण र नवीकरणीय ऊर्जा उत्पादनको माध्यम बनाउनुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाको टेकुस्थित परियोजनालाई सकारात्मक सुरुवातका रूपमा उल्लेख गर्दै उनले फोहोरलाई ल्यान्डफिल साइटमा फाल्ने वस्तुका रूपमा मात्रै नभई उपयोग गर्न सकिने स्रोतका रूपमा लिनुपर्ने धारणा राखे ।

उनका अनुसार टेकुस्थित परियोजनाबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने प्रारम्भिक लक्ष्य थियो । तर, बाढीका कारण उपकरणमा क्षति पुगेपछि उत्पादन सुरु हुन सकेको छैन । उपकरण पुनर्निर्माण गरी विद्युत् उत्पादन सञ्चालन गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अधिकारी तथा प्राविधिक टोलीलाई निर्देशन दिइसकेको उनले बताए ।

परियोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी त्यसबाट प्राप्त आम्दानी काठमाडौं महानगरपालिका वडा नम्बर १२ को आन्तरिक स्रोतका रूपमा विकास गर्न सकिने मन्त्री श्रेष्ठको प्रस्ताव छ । उत्पादित विद्युत् दिनमा परियोजना परिसरको कार्यालय सञ्चालन र रातमा टेकु आसपासका सडक बत्ती बाल्न प्रयोग गर्ने अवधारणा पनि उनले अघि सारे ।

मन्त्री श्रेष्ठले देशका ७५३ वटै स्थानीय तहलाई फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गर्न आग्रह गरे । यस्ता परियोजना अघि बढाउन मन्त्रालय स्थानीय तहसँग साझेदारी गर्न तयार रहेको उनले बताए ।

उनले विश्व बैंकलाई पनि परियोजनाको विस्तार र प्रविधिगत सहयोगमा साझेदारी गर्न आग्रह गरे । हाल दुईवटा डाइजेस्टरमार्फत सञ्चालन भइरहेको परियोजनालाई विस्तार गर्दै बन्चरेडाँडा र सिसडोलमा विसर्जन हुने फोहोरको मात्रा क्रमशः घटाउन सकिने उनको विश्वास छ ।

काठमाडौं महानगरपालिकाले भविष्यमा एक किलो फोहोर पनि ल्यान्डफिल साइटमा नपठाउने लक्ष्य लिनुपर्ने उल्लेख गर्दै उनले फोहोर व्यवस्थापनलाई उद्यमशीलता र रोजगारी सिर्जनासँग जोड्न सकिने बताए । उनले नेवार समुदायमा विगतमा प्रचलनमा रहेको ‘सागा’ प्रणालीबाट पनि परम्परागत फोहोर व्यवस्थापनको अभ्यास सिक्नुपर्ने धारणा राखे ।