काठमाडौं । बजारमा बिक्री हुने मासुको गुणस्तर र स्वच्छता सुनिश्चित गर्ने उद्देश्यसहित कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले काठमाडौंका मासु कोल्ड स्टोरमा छड्के अनुगमन गरेकी छन्।
मन्त्री चौधरीले बिहीबार बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रमा पुगेर त्यहाँको अवस्था निरीक्षण गरेकी हुन्।
मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को पालना भए–नभएको बुझ्न अनुगमन गरिएको हो। निरीक्षणका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर र खाद्य सुरक्षा मापदण्डबारे जानकारी लिएकी थिइन्।
उपभोक्ताले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको मन्त्री चौधरीले बताएकी छन्। उनले मासु व्यवसायीलाई निर्धारित मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएकी छन्।
सरकारले नयाँ व्यवस्थाअनुसार पशु वध गर्नुअघि र वधपछि मासुको स्वास्थ्य परीक्षण गर्ने तथा खानयोग्य ठहरिएको मासुमा सरकारी छाप लगाउने प्रक्रिया सुरु गरेको छ। परीक्षण नगरिएको वा खान अयोग्य ठहरिएको मासु बिक्री वितरण रोक्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।
पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकामा मासु परीक्षणका लागि करिब २४० जना पशु चिकित्सक तथा निरीक्षक परिचालन गरिएको छ। पहिलो दिन करिब २० हजार कुखुरा, सात राँगा तथा दुई बोकाको परीक्षण गरिएको थियो।
मासु परीक्षण प्रणालीले उपभोक्तासम्म गुणस्तरीय र सुरक्षित मासु पुर्याउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।
मन्त्रीको अनुगमनका क्रममा कुनै कोल्ड स्टोरमा कैफियत भेटिएको वा कारबाही गरिएको विवरण भने सार्वजनिक गरिएको छैन।












