काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले पनि अब फोनपेको क्यूआर नेटवर्कमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। फोनपेले नबिल बैंकसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ नामक डिजिटल भुक्तानी एप सार्वजनिक गरेको छ।

एपमार्फत पर्यटकले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। यस सुविधाले नेपाल भ्रमणका क्रममा दैनिक कारोबारका लागि नगद बोकेर हिँड्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

नेपाल नाउ प्रयोग गर्न पर्यटकले आफ्नो वैध राहदानी र नेपाल प्रवेशाज्ञा (भिसा) प्रयोग गरी एपमा दर्ता गर्नुपर्नेछ। त्यसपछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत एपमा रकम लोड गर्न सकिनेछ। लोड गरिएको रकमबाट फोनपे क्यूआर कोड स्क्यान गरी पसल, होटल तथा अन्य मर्चेन्टमा भुक्तानी गर्न सकिने व्यवस्था छ।

ADVERTISEMENT

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार नेपालमा विस्तार भएको डिजिटल भुक्तानी पूर्वाधारलाई अन्तर्राष्ट्रिय पर्यटकसम्म पुर्‍याउने उद्देश्यले एप ल्याइएको हो।

उनले यसले पर्यटकको दैनिक भुक्तानी सहज बनाउनुका साथै स्थानीय व्यवसायीलाई विदेशी ग्राहकसँग कारोबार गर्ने थप अवसर दिने बताए।

नेपालमा क्यूआर भुक्तानीको प्रयोग बढ्दै गएको अवस्थामा विदेशी पर्यटकलाई समेत त्यही प्रणालीमा जोड्ने यो पहललाई डिजिटल भुक्तानी र पर्यटन क्षेत्रबीचको सहकार्यका रूपमा हेरिएको छ।

कम्पनीका अनुसार ‘नेपाल नाउ’ एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ।