काठमाडौं । सरकारले सडक दुर्घटना तथा अन्य विपद्‌मा घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा यस्तो जानकारी दिएकी हुन्।

ADVERTISEMENT

उनका अनुसार उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिनेछ। यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

मन्त्री मेहताले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिइन्।

उनका अनुसार देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा क्रियाशील बनाइएको छ। एम्बुलेन्सलाई सामान्य यातायातको साधनबाट आकस्मिक उपचार सेवा उपलब्ध गराउने साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको उनले बताइन्।

मन्त्री मेहताले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नराखी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा जोड दिइन्। दुर्घटनापछि देखिन सक्ने शारीरिक अपांगता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवाको विस्तार गरिने उनको भनाइ छ।

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै उनले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै टुंगोमा पुर्‍याइने बताइन्।

सेन्टरले विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा अग्रपंक्तिमा रहेर सेवा दिइरहेको उल्लेख गर्दै मन्त्री मेहताले विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको बताइन्।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्य थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन्।