काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुलीमाढीले सडक स्तरोन्नतिमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ठेक्का सम्झौता किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सिन्धुलीमाढी–भुमेस्थान–चकमके–उदयपुर–कटारी सडक स्तरोन्नतिको ठेक्का पाएको निर्माण कम्पनी कन्टेक–जयी–जय शम्भु जेभी, नयाँ बानेश्वर काठमाडौंलाई १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

ADVERTISEMENT

ठेक्का नम्बर पीआरडीओ–एसआईएन/डब्लु/एनसीबी/१५/०७८–७९ अन्तर्गत सडकको चेनेज १८+३२० देखि २७+३६० सम्म स्तरोन्नति गर्ने गरी २०७९ जेठ १७ गते सम्झौता भएको थियो ।

ADVERTISEMENT

सुरुमा तोकिएको समयभित्र काम सम्पन्न नभएपछि दुई पटक म्याद थप गरी २०८२ फागुन २७ गतेसम्म समय दिइएको थियो । तर, थपिएको अवधिमा पनि निर्माण कार्य पूरा हुन सकेन ।

कार्यालयका अनुसार निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का सम्झौताबमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लाग्ने २०० दिनको अतिरिक्त अवधिमा समेत काम सम्पन्न हुन सकेन ।

काममा प्रगति गराउन कार्यालयले पटक–पटक ताकेता गरे पनि अपेक्षित उपलब्धि हासिल नभएको सूचनामा उल्लेख छ । यसअघि पत्राचार गरी स्पष्टीकरण माग गर्दा पनि निर्माण व्यवसायीले चित्तबुझ्दो जवाफ पेस नगरेको कार्यालयले जनाएको छ ।

त्यसैले ठेक्का सम्झौता अन्त्य गर्नुपर्ने अवस्था आउन नदिन कुनै मनासिब कारण भएमा निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि कुशल कुमार शर्मालाई स्वयं उपस्थित भएर १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न भनिएको छ ।

तोकिएको समयभित्र उपस्थित नभएमा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ ।

साथै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा २(क) र उपदफा ७ बमोजिम ठेक्का सम्झौता अन्त्य गरी आवश्यक कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ ।