काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल र क्रिकेटमा विभागीय टोलीले प्रभावशाली प्रदर्शन गरेका छन्। महिला बास्केटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले क्वार्टरफाइनलमा स्थान बनाएका छन् भने महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब र एपीएफले विजयी सुरुवात गरेका छन्।

सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको बास्केटबल कोर्टमा मंगलबार भएको समूह ‘ए’ को खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरले पराजित गर्‍यो। तीन टोली रहेको समूहमा लगातार प्रभावशाली प्रदर्शन गरेको एपीएफले जितसँगै क्वार्टरफाइनल यात्रा पक्का गरेको हो।

ADVERTISEMENT

एपीएफको जितमा प्रशन्दता लामाले सर्वाधिक ११ अंक जोडिन्। एपीएफले पहिलो क्वार्टरमा १४–७, दोस्रोमा १८–१, तेस्रोमा १३–५ र चौथोमा ७–६ को स्कोर गरेको थियो।

ADVERTISEMENT

त्यस्तै, समूह ‘बी’ मा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३६–३३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो। सुदूरपश्चिमको जितमा सञ्जु घिसिङले सर्वाधिक १९ अंक जोडिन्।

खेलको पहिलो क्वार्टरमा सुदूरपश्चिमले १४ अंक जोड्दा बागमतीले खाता खोल्न सकेन। दोस्रो क्वार्टरमा भने बागमतीले १३ अंक जोड्दै पुनरागमनको प्रयास गर्‍यो। उक्त क्वार्टरमा सुदूरपश्चिमले ६ अंक मात्र जोडेको थियो।

तेस्रो क्वार्टरमा बागमतीले १० र सुदूरपश्चिमले नौ अंक जोड्दा अन्तिम क्वार्टरमा बागमतीले १० तथा सुदूरपश्चिमले सात अंक बनाएका थिए। तर सुरुवाती अग्रता जोगाउँदै सुदूरपश्चिमले जित आफ्नो पक्षमा पार्‍यो।

महिला थ्री बाई थ्री बास्केटबलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। मंगलबार समूह ‘ए’ को खेलमा आर्मीले एपीएफलाई १७–१२ ले हरायो। आर्मीको जितमा दिव्यांशीले १२ अंक जोडिन्।

त्यस्तै, समूह ‘बी’ मा बागमतीले घरेलु टोली कर्णाली प्रदेशलाई ९–६ ले पराजित गर्‍यो।

महिला क्रिकेटमा आर्मी र एपीएफको फराकिलो जित

दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब र एपीएफले विजयी सुरुवात गरेका छन्।

वीरेन्द्रनगर रंगशालामा मंगलबार भएको समूह ‘ए’ को खेलमा आर्मीले कोशी प्रदेशलाई चार विकेटले पराजित गर्‍यो। कोशीले दिएको ६६ रनको लक्ष्य आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

आर्मीका लागि ओपनर विन्दु रावलले २१, रुबी पोदारले १८ र कविता कुँवरले अविजित १२ रन बनाइन्। कोशीकी कप्तान रुबिनाले तीन तथा एलिशा खडियाले एक विकेट लिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको कोशी १८.५ ओभरमा ६५ रनमै समेटिएको थियो। कप्तान रुबिनाले सर्वाधिक ३६ रन बनाइन्। उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

आर्मीकी यमुना थारूले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन्। चार ओभरमा दुई ओभर मेडन राखेकी उनले मात्र ६ रन खर्चिइन्। मनीषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले समान एक विकेट लिए।

अर्को खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको विशाल अन्तरले पराजित गर्‍यो। एपीएफले दिएको १९८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा ३९ रनमै अलआउट भयो।

लुम्बिनीका लागि ओपनर श्रुती बुढाथोकीले सर्वाधिक १५ रन बनाइन्। एपीएफकी करुणा भण्डारीले तीन विकेट लिइन्। रेखा रावल, राजमती ऐरी र बिनु बुढामगरले समान दुई तथा सुमन बिष्टले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १९७ रन बनाएको थियो। एपीएफका कप्तान सीता रानामगरले ६६, इन्दु बर्माले ५८ र ओपनर रेवती धामीले ५५ रनको अर्धशतकीय इनिङ खेले। लुम्बिनीका लागि आयुषा भुषालले मात्र एक विकेट लिन सकिन्।

महिला क्रिकेटमा तीन समूहका विजेता र तीन समूहबाट सर्वाधिक अंक ल्याउने अर्को एक टोली सेमिफाइनलमा पुग्नेछन्। अंक बराबर भए नेट रनरेटका आधारमा टोली छनोट गरिनेछ।

मंसिर १६ गते औपचारिक उद्घाटन

दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि खेल पूर्वाधार तथा बासस्थान व्यवस्थापनको अवस्थाका कारण केही खेलका प्रतिस्पर्धा अगाडि नै सुरु गरिएको हो।

मंगलबारदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी गरी पाँच खेलका प्रतिस्पर्धा सुरु भएका छन्। औपचारिक उद्घाटनअघि कुल ३२ खेलमध्ये नौ खेलका प्रतिस्पर्धा सम्पन्न हुनेछन्।

प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुनेछन्। बाँकी खेल सल्यान, दैलेख, कालिकोट, जुम्ला र पश्चिम रुकुममा सञ्चालन हुनेछन्। कर्णालीमा आवश्यक खेल पूर्वाधार अभाव भएपछि पौडी, टेनिस, खोखो र सुटिङसहित चार खेल लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा आयोजना गरिँदै छन्।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडी सहभागी हुँदैछन्। कुल ३८४ इभेन्टमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

यसपटक रजत र कांस्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक उद्घाटन हुने प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ।