काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।
उनले नेपालले प्राप्त गरेको ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि वित्तीय स्रोत उपलब्ध गराउने बताए।
नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ।
वाग्लेले भारत भ्रमणबाट नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटसहित आर्थिक तथा कूटनीतिक सहमति हासिल गरेको बताए। यी व्यवस्थाले पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय सम्पर्क सुदृढ गर्न सहयोग पुग्ने उनको विश्वास छ।
विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा सहुलियतपूर्ण ऋण उपयोग गर्न सकिने उनले बताए। यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण भएको बताए।
तर, १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा उपलब्ध हुने, ऋणको अवधि कति रहने र ग्रेस पिरियड कति हुने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनले जानकारी दिए।
यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्रीको प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी देखिएको बताए।
अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु पनि नेपालको कूटनीतिक प्रयासको उपलब्धि भएको बताए।
नेपालले विगत १० देखि १२ वर्षदेखि यसका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनले यसअघि एकतर्फी रहेको हवाई रुटलाई अब दुईतर्फी बनाइएको जानकारी दिए। यसले नेपालको नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको विश्वास रहेको उनले बताए।
आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि भारत तथा अन्य अन्तर्राष्ट्रिय सहरसँग हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको वाग्लेले बताए।












