काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि आवेदन फाराम भर्ने म्याद १५ दिन थप गरेको छ ।

कार्यालयले मंगलबार दोस्रोपटक सूचना जारी गर्दै आवेदन फाराम भर्ने तथा भराउने समयावधि थप गरेको जनाएको हो ।

ADVERTISEMENT

यसअघि कात्तिक ९ गते जारी सूचनाअनुसार मंगलबारसम्म आवेदन फाराम भर्ने समय तोकिएको थियो । तर दसैँ, तिहार तथा छठ पर्वका बिदाका कारण तोकिएको समयमा प्रक्रिया पूरा गर्न कठिनाइ भएको भन्दै विद्यालयहरूले म्याद थप गर्न माग गरेका थिए ।

ADVERTISEMENT

विद्यालयहरूको मागलाई ध्यानमा राख्दै बोर्डले समय थप गरेको हो । नयाँ व्यवस्थाअनुसार राजस्व बुझाउनेलगायत आवेदन प्रक्रियाका सम्पूर्ण काम पूरा गर्ने अन्तिम म्याद मंसिर २५ गतेसम्म कायम गरिएको कार्यालयले जनाएको छ ।