काठमाडौं । आज संघीय संसद्का चार वटा संसदीय समितिको बैठक बस्दैछ । बैठकमा मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द, विभिन्न विधेयक र चलचित्र क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुँदैछ ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ । बैठकमा मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल गर्ने कार्यसूची छ ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का अन्तिम समयमा रद्द गरिएको विषयमा समितिमा उजुरी परेको छ । टेन्डर प्रक्रिया पूरा भइसकेपछि ठेक्का रद्द गर्नु प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको र यसले राज्यलाई आर्थिक क्षति पुर्याउन सक्ने उजुरीकर्ताको दाबी छ । सोही उजुरीमाथि समितिले छलफल गर्न लागेको हो ।
यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजेदेखि जारी छ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल भइरहेको छ ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा चलचित्र विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।












