काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको शानदार बलिङमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो।

यूएईले दिएको १२३ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए। मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रनको योगदान दिए।

ADVERTISEMENT

यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो।

ADVERTISEMENT

उसका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० र हरप्रीत सिंह भाटियाले ३२ रन बनाए। नूर उल्लाह अयोबीले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। उनले ३ मेडन ओभरसमेत राखे। कुशल भुर्तेलले पनि ५ ओभरमा १६ रन दिँदै ३ विकेट लिए। त्यस्तै, नन्दन यादव, राशिद खान र ललित राजवंशीले १–१ विकेट हात पारे।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत एसँग निराशाजनक प्रदर्शन गरेको थियो। उक्त खेलमा नेपाल २६ रनमै अलआउट हुँदै ३०६ रनले पराजित भएको थियो।

नेपालले अब मंगलबार पाकिस्तान एसँग प्रतिस्पर्धा गर्नेछ।