काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउने अपेक्षा गरेको छ ।

भ्रमणको पूर्वसन्ध्यामा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले महत्त्वपूर्ण विदेश भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र राष्ट्रपतिसँग छलफल तथा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

ADVERTISEMENT

उनले यस्ता परामर्शले राष्ट्रिय चासोका विषयमा साझा धारणा बनाउन र विदेशमा नेपालको आवाज सशक्त बनाउन सहयोग पुग्ने बताएका छन् ।

ADVERTISEMENT

आचार्यले भ्रमणका क्रममा सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुसार स्पष्ट तथा जिम्मेवार प्रस्तुति हुनुपर्नेमा जोड दिएका छन् ।

‘मित्रवत् सम्बन्धलाई सुदृढ बनाउँदै आफ्ना चासो दृढतापूर्वक राख्न सक्नु नै प्रभावकारी कूटनीति हो । देशको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई स्मरण होस्,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीलाई लक्षित गर्दै आचार्यले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्, लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला’ भन्दै ध्यानाकर्षण गराएका छन् ।

उनले घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता भाषण तथा प्रचारमा मात्र सीमित हुन नहुने बताएका छन् । भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाउने र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गर्ने उनको अपेक्षा छ ।

आचार्यले प्रधानमन्त्री स्वदेश फर्किएपछि भ्रमणका उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउने विश्वास व्यक्त गर्दै सफल र फलदायी यात्राको शुभकामनासमेत दिएका छन् ।

प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।