काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आगामी मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा महोत्सव आयोजना हुँदैछ।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवले दुई देशबीचको सात दशक लामो मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगोको विशेष प्रस्तुति रहनेछ। सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपाल फर्किन लागेको हो।

ADVERTISEMENT

त्यस्तै, जापानका चर्चित हिपहप कलाकार मम्मी–डीसहित नेपाली सांगीतिक समूह कुटुम्ब, कववेभ र सविन राई एण्ड द फराहोको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सवले सांस्कृतिक सम्बन्धसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ। भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएको छ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ। महोत्सवले दुई देशबीचको मित्रतालाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक गतिविधि पनि सञ्चालन हुनेछन्। आयोजकका अनुसार महोत्सवमा प्रवेश निःशुल्क रहनेछ।