काठमाडौं। सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा सहयोगका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट प्राप्त हुने उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन्।

ADVERTISEMENT

त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को र्‍यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निःब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

ADVERTISEMENT

बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा आगामी मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमणलाई स्वीकृति दिँदै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ समेत स्वीकृत गरेको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावितलाई सहयोग, अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन, जग्गा व्यवस्थापन तथा विभिन्न नीतिगत विषयमा महत्त्वपूर्ण निर्णय गरेको हो।