काठमाडौँ । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ। सर्वोच्चको आदेशसँगै पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको धर्मशाला खाली गराउने बाटो खुलेको छ।
सर्वोच्च अदालतले २०८३ वैशाख २१ गते उच्च अदालत पाटनबाट भएको फैसला सदर गर्दै मारवाडी सेवा समितिले दाबी गरेको पशुपतिको जग्गामा मोही हक नलाग्ने निर्णय गरेको हो।
फैसलाअनुसार साविक पशुपति वडा नम्बर २ स्थित कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा मारवाडी सेवा समितिको मोही हक स्थापित हुँदैन। यी दुवै कित्ताको जग्गा २४ वर्षदेखि समितिको कब्जामा रहेको दाबी गरिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले समितिले दायर गरेको मुद्दा दोहोर्याएर हेर्न अनुमति मागसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै अनुमति दिन अस्वीकार गरेको हो।
अदालतले उच्च अदालत पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्याएर हेर्नुपर्ने अवस्था नदेखिएको भन्दै अनुमति प्रदान गर्न नमिल्ने आदेश दिएको छ।
यसअघि उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै रहने निर्णय गरेको थियो। सर्वोच्चले समेत मुद्दा दोहोर्याएर हेर्न अनुमति नदिएपछि समितिको कानुनी प्रयास असफल भएको छ।
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. मिलनकुमार थापाले एक दशक लामो न्यायिक संघर्षपछि पशुपति गौशाला धर्मशाला न्यायालयबाटै फिर्ता भएको बताए।
उनले भगवान पशुपतिनाथकै पक्षमा फैसला आएको भन्दै अब धार्मिक तथा सामाजिक कार्यका लागि सरकारी निकायसँग समन्वय गरेर गैरनाफामूलक ढङ्गले धर्मशाला सञ्चालन गर्न सकिने बताए।
डा. थापाका अनुसार पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को २०८१ असोज २० गतेको निर्णय र असोज २२ गते कोष तथा काठमाडौँ महानगरपालिकाबीच भएको सहमतिअनुसार धर्मशालाको सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाउन सकिनेछ। यसबाट पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सेवा उपलब्ध गराउन सकिने उनको भनाइ छ।












