सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुने तीनै जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार मृत्यु हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्।

ADVERTISEMENT

दुर्घटनामा ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा आइतबार सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको थियो।

गाडी अनियन्त्रित भएर सडकबाट करिब चार सय मिटर तल खसेको थियो। दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

भिरालो भूभाग र सडकको अवस्थाका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले बताएका छन्।