काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन र आपसी सद्भाव सुदृढ बनाउन यस पर्वले प्रेरणा दिने बताएका हुन्।
उनले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने छठ पर्वले सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले विधिपूर्वक छठ व्रत सम्पन्न गर्दा मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र दुःखकष्ट हट्ने जनविश्वास रहेको पनि बताएका छन्।
सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने वास्तविकतालाई आत्मसात् गर्दै सूर्यको पूजा आराधना गर्नुले प्रकृतिप्रतिको सम्मान र पर्यावरणीय चेतना अभिवृद्धि गर्ने उनको भनाइ छ।
शुभकामना सन्देशमा उनले छठ पर्वले पारिवारिक तथा सामाजिक एकता बलियो बनाउनसमेत सहयोग पुर्याउने उल्लेख गरेका छन्। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जलाशयका किनारमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिँदै पूजा गर्ने परम्पराले प्रकृति र मानवबीचको सम्बन्धलाई उजागर गर्ने उनले बताएका छन्।
राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्दै छठी माताको पूजा, अर्चना र व्रत गर्ने परम्परा नेपाली संस्कृतिको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरेका छन्। नदी, खोला, पोखरी तथा तालतलैयाका किनारमा रातभर जाग्राम बसेर हर्षोल्लासका साथ छठ मनाउने चलन रहेको पनि उनले बताएका छन्।
खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा समेत विस्तार हुँदै जानु खुसीको विषय भएको राष्ट्रपति पौडेलको भनाइ छ।
उनले नेपाली समाजमा रहेका सबै प्रकारका सामाजिक विभेद र विसङ्गति अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्न छठ पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्दै छठी माता र सूर्य भगवान्सँग सबै नेपालीको कल्याणको कामना गरेका छन्।












