धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन् ।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारलाई दिइएका सुझाव र आलोचनालाई लिएर बाहिर फैलिएका हल्लामा विश्वास नगर्न आग्रह गरे ।
सरकारले आफ्ना प्रतिबद्धता र वाचा पूरा गर्न दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै लामिछानेले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझाव दिनु र रचनात्मक आलोचना गर्नु पार्टीभित्रको विवाद वा फुटको संकेत नभएको बताए ।
रास्वपा लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने पार्टी भएकाले आन्तरिक बहस र छलफललाई लोकतन्त्रकै अभ्यासका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो । पार्टीभित्र पक्ष र विपक्षमा हुने छलफललाई नेतृत्वले सकारात्मक रूपमा लिने गरेको उनले बताए ।
मधेसको जनमत र विकासका विषयमा बोल्दै लामिछानेले यसपटक जनताले रास्वपालाई ठूलो भरोसाका साथ अवसर दिएको उल्लेख गरे ।
‘अहिले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा र अनुभूति गर्न सकेन भने म अर्को पटक यहाँ भोट माग्न आउने छैन,’ उनले भने ।
जनतालाई झुक्याएर मत माग्ने राजनीतिक चरित्र आफूलाई स्वीकार्य नहुने बताउँदै उनले मधेसी जनताको जीवनमा सार्थक परिवर्तन ल्याउने विश्वासका साथ प्राप्त अवसरलाई खेर नफाल्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।












