काठमाडौँ । भारतीय फिल्म ‘रामायण’ले नेपालमा प्रदर्शनको आठ दिनमै १६ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । कात्तिक १९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले कात्तिक २६ गतेसम्म ४ लाख ६ हजार टिकट बिक्री गरेको बक्सअफिस स्रोतले जनाएको छ । फिल्मले एकै दिनमा सर्वाधिक २ करोड ४८ लाख रुपैयाँसम्म ग्रस कलेक्सन गरेको स्रोतको दाबी छ ।
उपलब्ध शो सङ्ख्या र दर्शकको अकुपेन्सीका आधारमा शुक्रबार पनि फिल्मले एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने अनुमान गरिएको छ ।नितेश तिवारी निर्देशित फिल्ममा रणवीर कपूर राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् ।
भारतीय महाकाव्य रामायणमा आधारित फिल्मलाई दुई भागमा निर्माण गरिएको छ । पहिलो भाग ‘रामायण : राइज अफ अ लेजेन्ड’ नाममा प्रदर्शनमा आएको हो भने दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना छ ।












