हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्ति र सरकारी निर्णयको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन् । उनीहरूले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव परिवारले बुझिसकेको छ । बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।
पीडित परिवार, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन बनेको थियो । पीडितका माग र क्षतिपूर्तिका विषयमा आज पनि छलफल हुने प्रहरीले जनाएको छ ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी हाइस चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।












