काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान रिहा भएका छन्। उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकका लागि कानुनमा व्यवस्था गरिएको कैद छुट सुविधा पाएर रायमाझी रिहा भएका हुन्। उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो।

ADVERTISEMENT

रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो। तिहारअघि नै प्राप्त उक्त पुर्जीका आधारमा उनलाई रिहा गरिएको कारागार कार्यालय डिल्लीबजारका एक अधिकृतले बताएका छन्।

ADVERTISEMENT

डिल्लीबजारका जेलर बाबुराम अर्यालले पनि रायमाझीलाई बिहीबार रिहा गर्न अदालतबाट तिहारअघि नै पत्र प्राप्त भएको जानकारी दिएका छन्। संशोधित कैदीपुर्जीअनुसार बिहीबार उनको कैद भुक्तान हुने दिन रहेको उनले बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ। सोही सुविधाअनुसार रायमाझी रिहा भएका हुन्।