काठमाडौं । नेपाल संवत् ११४७ को अवसरमा नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने नौ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् ।सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया भिंतुना र्याली व ज्याझ्वलय् हनेगु खँय्’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा हितकर वीर सिंह कसाः, तुलसी नारायण खमु श्रेष्ठ, प्रा. दिनेश राज पन्त, प्रा. डा. चुन्दा बज्राचार्य, राजु शाक्य, अमृत नारायण मानन्धर, कुमार रञ्जित, प्रा. डा. अमिता प्रधान शाक्य र पुरुषोत्तम महर्जन सम्मानित भएका छन् ।
नेपाल संवत् नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपाल भाषा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूको कामको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।
नेपाल संवत् नेवार समुदायको मौलिक सांस्कृतिक पहिचानसँगै समग्र नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ । यस अवसरमा भाषा, लिपि, कला र परम्पराको संरक्षणमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दा नयाँ पुस्तालाई समेत आफ्नो मौलिक पहिचान र संस्कृतिप्रति प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।












