झापा । तिहारको सांस्कृतिक रौनकलाई साहित्य, संगीत र सिर्जनासँग जोड्दै आएको साहित्य चौतारी झापाले यस वर्ष पनि परम्परागत दक्षिणारहित सडक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ । नेपाली मौलिक संस्कृति, भाषा, साहित्य र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियानले दुई दशकदेखि निरन्तरता पाउँदै आएको छ ।
साहित्य चौतारी झापाले वरिष्ठ संगीतकार डा. टीका भण्डारीको विशेष आतिथ्यतामा बिर्तामोडमा सडक देउसी–भैलो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा साहित्यकार, गीतकार, संगीतकार, गायक तथा विभिन्न क्षेत्रका सर्जकहरूको सहभागिता रहेको थियो । उनीहरूले देउसी–भैलोमार्फत तिहारको सांस्कृतिक महत्त्वसँगै नेपाली मौलिक कला, साहित्य र संगीतको पहिचान प्रस्तुत गरेका थिए ।
साहित्य चौतारीले बिर्तामोडस्थित मुक्तिचोकबाट सुरु गरेको देउसी–भैलो टोली बीएण्डसी मेडिकल कलेज हुँदै एसियन हाइवेको इलाका प्रहरी कार्यालय आसपासका क्षेत्रमा पुगेको थियो । विभिन्न स्थानमा सांस्कृतिक प्रस्तुति दिँदै टोलीले नेपाली परम्परागत देउसी–भैलोलाई साहित्य र सिर्जनासँग जोड्ने प्रयास गरेको थियो ।
साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष देवीभक्त श्रेष्ठको अगुवाइमा विगत दुई दशकदेखि यस्तो कार्यक्रम निरन्तर आयोजना हुँदै आएको छ । देउसी–भैलोलाई केवल मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यमका रूपमा नभई साहित्य, संगीत, सामाजिक सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धिको अभियानका रूपमा विकास गर्ने उद्देश्यले यो परम्परा सुरु गरिएको हो ।
यस अभियानको विशेष पक्ष दक्षिणारहित देउसी–भैलो हो । सामान्यतया तिहारमा घरघर पुगेर दक्षिणा तथा उपहार सङ्कलन गर्ने चलन रहे पनि साहित्य चौतारीले भने आर्थिक सङ्कलनभन्दा सांस्कृतिक प्रस्तुति र सिर्जनात्मक अभिव्यक्तिलाई प्राथमिकता दिँदै आएको छ । यसले देउसी–भैलोको मौलिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै पर्वको सामाजिक र सिर्जनात्मक महत्त्वलाई समेत स्थापित गर्न खोजेको छ ।
साहित्य चौतारी झापाले साहित्यिक तथा सांगीतिक सिर्जनाको प्रवर्द्धन, सर्जकबीच आपसी सम्बन्ध विस्तार र नेपाली भाषा, साहित्य तथा मौलिक संस्कृतिको संरक्षणलाई आफ्ना गतिविधिको प्रमुख उद्देश्य बनाउँदै आएको छ । साहित्यकार, गीतकार, संगीतकार र गायकलाई एउटै अभियानमा जोड्ने यस्ता कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान र सिर्जनात्मक क्षमताको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यम र बदलिँदो जीवनशैलीका कारण परम्परागत सांस्कृतिक अभ्यासहरू क्रमशः ओझेलमा पर्दै गएका छन् । यस्तो अवस्थामा साहित्य चौतारीले दुई दशकदेखि निरन्तर सञ्चालन गर्दै आएको सडक देउसी–भैलो अभियानले मौलिक संस्कृति संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरणको महत्त्वलाई पुनः स्मरण गराएको छ ।
सडकलाई नै सिर्जनाको मञ्च बनाएर साहित्य र संगीतमार्फत सांस्कृतिक चेतना फैलाउने साहित्य चौतारीको यो अभियान झापाको साहित्यिक तथा सांस्कृतिक गतिविधिमा छुट्टै पहिचान बनाउन सफल भएको छ । दुई दशक लामो निरन्तरताले दक्षिणारहित देउसी–भैलो केवल तिहारको कार्यक्रम नभई साहित्य र संस्कृतिको संरक्षणसँग जोडिएको एउटा सिर्जनात्मक अभियानका रूपमा स्थापित हुँदै गएको देखाएको छ ।












