काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाइँदैछ।
हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। दूध, गोबर र गहुँतबाट धार्मिक तथा दैनिक जीवनमा उपयोग हुने भएकाले पनि गाईको विशेष महत्त्व रहेको छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत कायम राखेका छन्। पछिल्लो समय गाईको अभावमा संकल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।
गाईलाई सम्मानस्वरूप नेपालको राष्ट्रिय जनावरका रूपमा समेत राखिएको छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्याउने मान्यता छ।












