काठमाडौं । विश्वकै चर्चित अर्बपति तथा टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्ककी छोरी भिभियन जेन्ना विल्सन अहिले आफ्नै पहिचान र करिअरका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चामा छिन्। १८ वर्षको उमेरमै बाबुको थर त्यागेर आमाको थर अपनाएकी भिभियन अहिले मोडलिङ, फेसन र लैङ्गिक अधिकारका विषयमा सक्रिय देखिएकी छन्।

सन् २०२२ अप्रिलमा १८ वर्ष पूरा गरेलगत्तै उनले क्यालिफोर्नियाको लस एन्जलस काउन्टीस्थित उच्च अदालतमा आफ्नो कानुनी नाम र लैङ्गिक पहिचान परिवर्तनका लागि निवेदन दिएकी थिइन्। उनले जैविक बाबु एलन मस्कसँग कुनै पनि प्रकारको सम्बन्ध राख्न नचाहेको उल्लेख गर्दै आफ्नो नाम परिवर्तन गर्न माग गरेकी थिइन्।

ADVERTISEMENT

अदालतले सन् २०२२ जुनमा उनको निवेदन स्वीकृत गरेपछि उनी कानुनी रूपमा भिभियन जेन्ना विल्सन बनिन्। यसअघि उनको नाम जेभियर अलेक्जेन्डर मस्क थियो। उनले बाबुको थर हटाएर आमा जस्टिन विल्सनको थर रोजेकी थिइन्।

ADVERTISEMENT

भिभियनको यो निर्णयले विश्वव्यापी चर्चा पाएको थियो। विशेषगरी लैङ्गिक पहिचान, व्यक्तिको आत्मनिर्णयको अधिकार र पारिवारिक सम्बन्धका विषयमा बहस सिर्जना भएको थियो। एलन मस्कले लैङ्गिक पहिचान र ट्रान्सजेन्डर समुदायबारे गरेका सार्वजनिक टिप्पणीका कारण बाबुछोरीबीचको मतभेदसमेत चर्चामा आएको थियो।

फेसनको अन्तर्राष्ट्रिय मञ्चमा भिभियन

पारिवारिक पहिचानभन्दा आफ्नै करिअरलाई अगाडि बढाउने क्रममा भिभियन अहिले मोडलिङ क्षेत्रमा सक्रिय छिन्। सन् २०२५ मा ‘टिन भोग’को आवरणमा देखिएपछि उनको चर्चा अझ बढेको थियो। त्यसपछि उनले विभिन्न फेसन ब्रान्डका लागि काम गर्ने अवसर पाएकी छन्।

सन् २०२६ फेब्रुअरीमा इटालीको मिलान फेसन विकमा विश्वप्रसिद्ध फेसन ब्रान्ड गुच्चीको फेसन सोमा ¥याम्पमा उत्रिएपछि उनी अन्तर्राष्ट्रिय फेसन क्षेत्रमा थप चर्चित बनिन्। यसअघि पनि उनी न्यूयोर्क फेसन विकमा सहभागी भइसकेकी थिइन्।

उनले चर्चित गायिका रिहानाको फेसन ब्रान्ड ‘सेभेज एक्स फेन्टी’को अभियानमा समेत मोडलका रूपमा काम गरेकी छन्। त्यस्तै, लैङ्गिक पहिचानलाई समेट्ने फेसन ब्रान्ड टम्बोयएक्ससँग पनि उनको सहकार्य रहेको छ।

बाबुको पहिचानभन्दा आफ्नै भविष्य महत्वपूर्ण

सन् २०२६ अप्रिलमा ‘कस्मोपोलिटन’सँगको अन्तर्वार्तामा भिभियनले आफ्नो व्यक्तिगत जीवन, मोडलिङ यात्रा र एलन मस्कसँगको सम्बन्धबारे खुलेर कुरा गरेकी थिइन्।

उनले आफूलाई सधैँ एलन मस्ककी छोरीका रूपमा मात्र चिनाइनुभन्दा आफ्नै काम र पहिचानबाट चिनिन चाहेको धारणा व्यक्त गरेकी थिइन्। बाबुसँगको सम्बन्ध आफ्नो जीवनको एउटा हिस्सा भए पनि त्यो आफ्नो भविष्यको सम्पूर्ण परिचय नभएको उनको भनाइ थियो।

उनले जापानको कोमाजावा विश्वविद्यालयमा अध्ययनसमेत गरेकी थिइन्। सुरुमा शिक्षण पेसामा जाने सोच बनाएकी उनी पछिल्लो समय मोडलिङमा प्राप्त अवसरका कारण यही क्षेत्रमा सक्रिय भएकी छन्।

भिभियनले आफूले मोडलिङबाटै आफ्नो खर्च धानिरहेको बताएकी छन्। उनी फेसनसँगै ट्रान्सजेन्डर अधिकार र सामाजिक विषयमा पनि आफ्ना धारणा सार्वजनिक गर्दै आएकी छन्।

अर्बपति परिवारमा जन्मिएकी भिभियनको यात्रा अहिले व्यक्तिगत पहिचान, आत्मनिर्णय र आफ्नै मेहनतबाट करिअर निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। एलन मस्ककी छोरी हुनु उनको परिचयको एउटा हिस्सा भए पनि उनी त्यसैमा सीमित नरही अन्तर्राष्ट्रिय मञ्चमा आफ्नै स्थान बनाउन अघि बढिरहेकी छन्।