काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

बिहीबार पेस गरिएको रिट शुक्रबार दर्ता भएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिएका छन्। उनका अनुसार रिटमाथि सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको छ।

ADVERTISEMENT

सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई नयाँ महानिरीक्षक नियुक्त गरेको थियो। त्यसपछि कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दिएका हुन्।

ADVERTISEMENT

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी मनोज केसीलाई विपक्षी बनाइएको छ।

कार्कीले महानिरीक्षकलाई अर्को पदमा नियुक्त गरेको बहानामा हटाउने निर्णय वस्तुनिष्ठ आधारविहीन र बदनियतपूर्ण रहेको दाबी गरेका छन्। उनले उक्त निर्णय बदर गरी आफूलाई पुनः आईजीपी पदमा कायम गर्न माग गरेका छन्।

कार्की २०८२ कात्तिक २७ गते आईजीपीमा बढुवा भएका थिए। एक वर्ष नपुग्दै पदबाट हटाइएपछि उनले कानुनी उपचार खोजेका हुन्। यता नवनियुक्त आईजीपी केसीले भने कार्यभार सम्हालिसकेका छन्।