काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई सहज र पारदर्शी बनाउन ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।
नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले विमानबाट झारिएको आफ्नो सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियालाई प्रत्यक्ष हेर्न सक्नेछन्। यसले सामानको अवस्थाबारे जानकारी लिन र ब्यागेज प्राप्त गर्न लाग्ने समय अनुमान गर्न यात्रुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन। सामानको प्रतीक्षामा यात्रु अन्योलमा पर्ने र पर्याप्त सूचना नहुँदा असहजता हुने गरेको थियो।
लाइभ फिडको व्यवस्थाले ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षबाटै हेर्न सकिने भएपछि यात्रुको प्रतीक्षा थप सहज र व्यवस्थित हुने विश्वास गरिएको छ।
पछिल्लो समय विमानस्थलको सेवा सुधार, प्रविधिको प्रयोग र यात्रुको सुविधालाई प्राथमिकता दिँदै विभिन्न पहल अघि बढाइएको जनाइएको छ।










