काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक चौहर्वाबाट सिरहातर्फ जाँदै थियो भने मोटरसाइकल सिरहाबाट चौहर्वातर्फ आउँदै थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीले उनीहरूको पहिचान खुलाउने र आफन्तको खोजी गर्ने काम भइरहेको जनाएको छ।
दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ भने दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई कार्यालयमा ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ।










