सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।
दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दिलबहादुरको टाउको, घाँटी र छातीमा तथा बालक शिशिरको टाउको र हातमा चोट लागेको छ। सितला टमटाको टाउको र ढाडमा चोट लागेको छ।
दुर्घटनाको खबर पाएपछि बिहान २ बजेर १५ मिनेटमा प्रहरी चौकी जुनीचाँदेबाट प्रहरी सहायक निरीक्षक किरण रानाको नेतृत्वमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









