काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण अनिवार्य रहेको बताएका छन्।

बुधबार दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि सुशासन कायम गर्नु रहेको बताए।

ADVERTISEMENT

उनले जनताले राखेका अपेक्षा पूरा गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। साथै, जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद तथा जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे।

ADVERTISEMENT

प्रशासकीय भवन भौतिक संरचनामा मात्र सीमित नभई जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारस्तम्भ भएको उनको भनाइ थियो।

उनले नयाँ भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री हुने विश्वास व्यक्त गरे। प्रशासकीय भवन आधुनिक भएर मात्र नपुग्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रशासनिक कार्यशैलीसमेत प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताए।