काठमाडौं । नेपालको मौलिक संस्कृति र चाडपर्वलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डले आयोजना गर्न लागेको प्रतियोगितामा उत्कृष्ट रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को निर्देशनअनुसार नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिइएको हो। यसअघि दशैंको अवसरमा स्थानीय तह र पर्यटनसम्बद्ध संघसंस्थाको सहकार्यमा देशभरका १०० स्थानमा लिङ्गे पिङ राखिएको थियो।
कुकुर तिहार रिल प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको बोर्डले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक र सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ। भिडियो अंग्रेजी भाषामा हुनुपर्नेछ। अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ।
सहभागीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा आयोजकले तोकेका ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। इन्स्टाग्राममा नेपाल पर्यटन बोर्डको आधिकारिक अकाउन्टलाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ।
सामाजिक सञ्जालमा प्रकाशित भिडियोसँगै डाउनलोड तथा हेर्न मिल्ने अनुमति दिइएको गुगल ड्राइभ लिंक इमेलमार्फत बोर्डलाई पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ।
प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्ने जनाएको छ। प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ।
नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्ने परम्परा छ। तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला र मीठा परिकार दिएर पूजा गरिन्छ।
यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोडेर कुकुर तिहारलाई धार्मिक पर्वका रूपमा मात्रै नभई जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु पुर्याउने बोर्डको लक्ष्य छ।










