काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार अन्तिम समयमा सम्हालिएको छ। कारोबारको अधिकांश समय नकारात्मक रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अन्तिममा ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा बन्द भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.४८ अंक, फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंकले बढेका छन्।
नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। सोमबार ७ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३४९ कम्पनीका १ करोड ५४ लाख २० हजार कित्ता सेयर ५७ हजार ४४ पटकको कारोबारमा किनबेच भएका छन्।
यस दिन शिखर पावर डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ५.९४ प्रतिशत बढेको छ। रिभर फल्स पावरको मूल्य पनि करिब ६ प्रतिशतले बढेको छ। यता, पछिल्ला दिनमा लगातार सकारात्मक सर्किटमा कारोबार भइरहेको बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य भने सबैभन्दा धेरै ५.०४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको करिब साढे १९ करोड र कुमारी बैंकको १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ। होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १.०७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।









