काठमाडौं । दशैंमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मले बक्सअफिसमा कुल ११ करोड ८९ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेका छन्। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार ‘आ बाट आमा–२’ ले सबैभन्दा बढी कमाइ गरेको छ।
बोर्डको तथ्यांकअनुसार असोज ३० गतेदेखि प्रदर्शनमा आएको पल शाह र मलिका महत अभिनित ‘आ बाट आमा–२’ ले १७ दिनमा ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा फिल्मका २ लाख १३ हजार १९४ टिकट बिक्री भएका छन्।
चन्द्र पन्तको निर्देशन तथा कथा रहेको फिल्ममा पल र मलिकासहित विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ र नरेन खड्कालगायत कलाकारको अभिनय छ।
सोही दिनदेखि प्रदर्शनमा आएको विराज भट्ट निर्देशित ‘१२ गाउँ–२’ ले १७ दिनमा २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ कमाएको छ। फिल्मका ७४ हजार ८०७ टिकट बिक्री भएका छन्।
दुई वर्षअघि प्रदर्शनमा आएको हिट फिल्म ‘१२ गाउँ’ को सिक्वेलका रूपमा बनेको यस फिल्ममा विराजका छोरा समीर भट्टसहित विराज, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायतको अभिनय छ। पहिलो भागले झण्डै २० करोड रुपैयाँको व्यापार गरेको थियो।
त्यस्तै, असोज ३१ गतेदेखि प्रदर्शनमा आएको ‘छ माया छपक्कै–२’ ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मका १ लाख ३ हजार ९७९ टिकट बिक्री भएका छन्।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भट्टराई मुख्य भूमिकामा छन्। फिल्ममा दीपाश्री निरौला, निर्मल शर्मा, रिहान गिरी, रवीन्द्र झा, रमा थपलिया र मेक्सम गौडेललगायतको पनि अभिनय छ। रोहित अधिकारी निर्माता रहेको फिल्मको पहिलो भाग सफल भएको थियो।
तीनवटै फिल्म सफल सिक्वेलका रूपमा प्रदर्शनमा आए पनि सार्वजनिक बक्सअफिस तथ्यांकले अपेक्षाअनुसारको व्यापार हुन नसकेको देखाएको छ।









