काठमाडौं । पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारविरुद्धका अपराधमा दण्डहीनता अन्त्य गर्नु प्रेस स्वतन्त्रता र कानुनी शासनको संरक्षणका लागि आवश्यक रहेको फोरमले जनाएको छ ।
पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २) का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई जवाफदेही बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । यस वर्षको दिवसको नारा ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ रहेको छ ।
फोरमका अनुसार २०५२ सालदेखि सुरु भएको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा हत्या तथा बलपूर्वक बेपत्ता पारिएका पत्रकारका परिवारले अझै न्याय पाउन सकेका छैनन् । द्वन्द्वकालमा तत्कालीन माओवादी पक्ष र राज्यका सुरक्षा निकायबाट भएका घटनासम्बन्धी उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा दर्ता भए पनि ती मुद्दा अझै टुंगिएका छैनन् ।
पत्रकारहरू द्वन्द्वका प्रत्यक्ष पक्ष नभई मानव अधिकार रक्षक भएकाले उनीहरूमाथिका अपराधलाई संक्रमणकालीन न्याय संयन्त्रको सट्टा नियमित फौजदारी न्याय प्रणालीबाट सम्बोधन गर्नुपर्ने फोरमको माग छ ।
द्वन्द्वकालीन घटनामा न्यायको माग
फोरमले द्वन्द्वकालमा मारिएका पत्रकार नवराज शर्मा ‘वसन्त’, कृष्णबहादुर सेन, गोपाल गिरी, ईश्वर बुढाथोकी, कुमार घिमिरे, देवकुमार आचार्य, राजकुमार केसी, कमल एसी, महेश्वरी पहारी र अम्बिका तिमिल्सेनाका मुद्दा अझै आयोगमा विचाराधीन रहेको जनाएको छ ।
त्यस्तै, विस्तृत शान्ति सम्झौतापछि हत्या गरिएका पत्रकार जगतप्रसाद जोशी, खगेन्द्र श्रेष्ठ र देवीप्रसाद धितालका घटनामा अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि नबढेको फोरमको भनाइ छ । काठमाडौंमा गोली हानी हत्या गरिएका जमिम शाह तथा २०१५ को मधेश आन्दोलनमा ज्यान गुमाएका रोहन चौधरी र गणेश चौधरीका घटनामा पनि न्यायिक प्रक्रिया अघि बढ्न नसकेको विज्ञप्तिमा उल









