काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ संस्करण सम्पन्न भएको छ ।
आइतबार धन्यन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोली सहभागी भएका थिए । पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ ।
त्यस्तै, महिलातर्फको फाइनलमा साविक विजेता लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि रक्षा गरेको छ ।

प्रतियोगिताको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरेर गरेका थिए । मुख्य प्रतियोगिताअघि नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल विज्ञापन संघबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । उक्त प्रतिस्पर्धामा नेपाल आर्थिक पत्रकार संघ विजयी भएको थियो ।
समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
बैंकले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध विस्तारमा सहयोग पुर्याउँदै आएको जनाएको छ ।
यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवकै अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।









