काठमाडौं । धादिङमा पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने ९ जना यात्रु घाइते भएका छन्।
शनिबार साँझ गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बा.प्र.०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाका क्रममा सडकमा हिँडिरहेका स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई माइक्रोबसले किचेको थियो। उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल पुर्याइएका अधिकारीलाई चिकित्सकले राति पौने ९ बजे मृत घोषणा गरेका थिए।
माइक्रोमा चालकसहित १० जना सवार रहेकामा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनालाई बैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ।
ट्रमा सेन्टर रिफर गरिएका घाइतेमा कास्कीका तिला नेपाली, स्याङ्जाकी सुनिता राई र कास्कीका राजकुमार ढकाल रहेका छन्।
बैरेनी अस्पतालमा उपचारका लागि पठाइएका घाइतेमा लमजुङका सजन गुरुङ, सोलुखुम्बुका चन्द्र नाछिरिङ राई र भरत राई, स्याङ्जाका नवराज चौलागाईं र युवराज पौडेल तथा भोजपुरका सुरेन्द्र तामाङ रहेका छन्।
दुर्घटनामा परेको हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









