हुम्ला । बडादशैँको बिदा सकिएको चार दिन बितिसक्दा पनि हुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन छन्। स्थानीय तह, संघ र प्रदेश मातहतका कार्यालयका प्रमुख दशैँ मनाउन जिल्ला बाहिर गएकामा बिदा सकिएपछि पनि कार्यालय फर्किएका छैनन्।

सरकारले दिएको लामो दशैँ बिदापछि सोमबारदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कार्यालय प्रमुख उपस्थित भएका छैनन्। प्रमुखहरू कार्यालयमा नफर्किएपछि निमित्त कर्मचारीको भरमा दैनिक कामकाज सञ्चालन भइरहेको छ।

ADVERTISEMENT

कार्यालय प्रमुखसँगै कर्मचारीको उपस्थिति पनि न्यून देखिएको छ। त्यसले गर्दा सरकारी सेवा लिन आउने सेवाग्राहीको उपस्थिति पनि फाट्टफुट्ट मात्रै रहेको छ।

ADVERTISEMENT

दशैँ बिदापछि कार्यालयमा उपस्थित नभएका प्रमुखहरूमा भूमि प्रशासन, जिल्ला हुलाक, नापी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, सामाजिक विकास, पशु सेवा तथा पशु अस्पताल, प्रदेश लेखा इकाइ, कोष तथा लेखा नियन्त्रण, निर्वाचन, कृषि विकास, उद्योग तथा उपभोक्ता हित संरक्षण, शिक्षा विकास तथा समन्वय इकाइ, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास, स्वास्थ्य सेवा, डिभिजन वन, आयुर्वेद, पूर्वाधार विकास कार्यालय र नेपाल विद्युत् प्राधिकरण हुम्लाका प्रमुखलगायत छन्।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार डिभिजन वन र आयुर्वेद कार्यालयका प्रमुखले मात्रै आफू जिल्ला बाहिर रहेको जानकारी गराएका छन्। अन्य कार्यालय प्रमुखको अवस्थाबारे भने प्रशासनलाई जानकारी नभएको उनले बताए।

सरकारी कार्यालयका कर्मचारी जिल्ला बाहिर जाँदा कार्यालयको काम वा घरबिदाका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। तर, हुम्लाका अधिकांश कार्यालय प्रमुख कार्यालय समयमा उपस्थित नहुने प्रवृत्ति पुरानै रहेको बताइएको छ।

कार्यालय प्रमुख जिल्ला बाहिर रहँदा कतिपय सरकारी कार्यालय खरिदार र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन्। यो समस्या दशैँ बिदामा मात्रै सीमित नभई हिउँदयाममा पनि दोहोरिने गरेको छ।

हिउँदमा चिसोको कारण देखाउँदै कार्यालय प्रमुख जिल्ला बाहिर बस्ने प्रवृत्तिले विकास निर्माणसँग सम्बन्धित कार्यालयका कामकारबाहीसमेत प्रभावित हुँदै आएको स्थानीयस्तरमा गुनासो छ। कार्यालय प्रमुख र कर्मचारीको नियमित उपस्थितिको अभावले सर्वसाधारणले पाउनुपर्ने सेवा र विकास आयोजनाको कार्यसम्पादनमा असर पर्ने चिन्ता बढेको छ।