ताप्लेजुङ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटकको यात्रा प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण आधारशिविरतर्फ गएका आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित स्थानतर्फ फर्किएका छन्।
कञ्चनजङ्घा आधारशिविर जाने क्रममा लोनाक, खाम्बाचेन तथा आधारशिविर क्षेत्रमा पुगेका पर्यटक मौसम प्रतिकूल भएपछि घुन्सातर्फ फर्किएका हुन्। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार अधिकांश पर्यटक घुन्सामै रोकिएका छन्।
“बेसक्याम्प जाने पर्यटकहरू घुन्सामै बसेका छन्। ६–७ जना मात्र घुन्साबाट माथि गएका छन्। माथि हिमपात भइरहेको छ र हिमाल सेताम्मे देखिन्छ,” शेर्पाले भन्नुभयो। समुद्र सतहदेखि तीन हजार ४७५ मिटर उचाइमा रहेको घुन्सा बस्ती कञ्चनजङ्घा आधारशिविरको प्रवेशद्वार हो। घुन्साबाट दुईवटा क्याम्प पार गरेपछि कञ्चनजङ्घा हिमालको उत्तरी आधारशिविर पाङ्पे पुग्न सकिन्छ।
खाम्बाचेन समुद्र सतहदेखि चार हजार ५० मिटर, लोनाक चार हजार ७८० मिटर र उत्तरी आधारशिविर पाङ्पे पाँच हजार १४३ मिटर उचाइमा अवस्थित छन्। यी सबै क्षेत्रमा हिमपात भएको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार अहिले स्वदेशी तथा विदेशी गरी करिब २५० पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेका छन्। उनीहरू विभिन्न बस्ती तथा होटलमा बसेका छन्। ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढी रहेको उहाँले बताउनुभयो।
भदौदेखि कात्तिक १२ गतेसम्म ६०० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन्। मुख्य पदयात्रा सिजनमै प्रतिकूल मौसमका कारण पर्यटकको आवागमन प्रभावित भएको छ।
यता, जिल्लाको सदरमुकाम फुङ्लिङमा पनि बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ। हिमाली क्षेत्रमा वर्षा र हिमपात भएपछि ताप्लेजुङमा चिसो बढेको छ। मौसममा सुधार नआएसम्म कञ्चनजङ्घा आधारशिविरतर्फको पदयात्रा थप प्रभावित हुन सक्ने देखिएको छ।








