काठमाडौं, कात्तिक १२ । बङ्गालको खाडीमा विकसित शक्तिशाली ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा देखिन थालेको छ। भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातका कारण भारतका विभिन्न क्षेत्रमा भारी वर्षा र आँधीबेहरी भइरहेको छ। यसैबीच बङ्गालको खाडीको पूर्वी भागमा अर्को बलियो न्यूनचापीय प्रणाली विकसित भएपछि नेपालमा वर्षा र हिमपात दोहोरिने सम्भावना बढेको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार बुधबार बिहानदेखि चक्रवातको प्रभाव देखिन थालेको हो। यसको असर विशेषगरी उच्च हिमाली क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ। मौसमविद् विनु महर्जनका अनुसार देशका विभिन्न स्थानमा बदली हुनुका साथै लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षासमेत भएको छ।
महर्जनले कात्तिक १३ र १४ गतेसम्म चक्रवातको प्रभाव तीव्र हुन सक्ने बताउनुभयो। उच्च हिमाली क्षेत्रमा हिमआँधीसहित भारी हिमपातको सम्भावना रहेकाले आवश्यक प्रतिकार्य र सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ। पहाडी तथा तराईका क्षेत्रमा भने मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् निष्ठा निरौलाले बताउनुभयो। भारतको बिहारनजिकका क्षेत्रमा हावाहुरीसहित वर्षा हुन सक्ने उहाँको भनाइ छ।
जलविज्ञान अनुसन्धान केन्द्रले चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा अनुगमन र सतर्कता बढाएको जनाएको छ। केन्द्रका प्रमुख डा. राजन भट्टराईका अनुसार तीन हजार मिटरभन्दा माथि रहेका करिब २३ वटा स्वचालित हिममापन केन्द्रको अवस्थाबारे जानकारी लिइएको छ।
हिमआँधीको जोखिम बढी देखिएकाले अहिले हिमाली क्षेत्रको अवस्थालाई प्राथमिकतामा राखेर अध्ययन भइरहेको उहाँले बताउनुभयो। वर्षाको तुलनामा हिमपातको मात्रा तत्काल यकिन गर्न कठिन हुने भएकाले सम्भावित जोखिमको आकलनमा चुनौती रहेको उहाँको भनाइ छ।
भट्टराईका अनुसार चक्रवात बिहार आसपास आइपुग्दा यसको प्रभाव भारतको तुलनामा नेपालमा केही कमजोर हुन सक्ने अनुमान छ। तर, प्रणाली कुन दिशातर्फ फैलिन्छ वा कुनै क्षेत्रमा केन्द्रित हुन्छ भन्ने आधारमा वर्षा र हिमपातको मात्रा फरक पर्न सक्छ। उहाँले बिहीबार रातिदेखि यसको प्रभाव थप देखिन सक्ने अनुमान गर्नुभएको छ।
भारी वर्षाका कारण पहाडी जिल्लामा पहिरोको जोखिमसमेत बढ्न सक्ने बताइएको छ। सम्भावित प्रभावित क्षेत्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भए पहिरो जान सक्ने भएकाले पूर्वानुमानका आधारमा सतर्कता सूचना जारी गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ। यसैगरी, बाढी पूर्वानुमान शाखाले खहरे तथा स्थानीय खोलामा आकस्मिक बाढी आउन सक्ने अवस्थाको अनुगमन सुरु गरेको शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो।
दसैँअघि विकसित शक्तिशाली न्यूनचापीय प्रणालीका कारण सगरमाथालगायतका उच्च हिमाली क्षेत्रमा आठ फिटभन्दा बढी हिउँ परेको थियो। अहिले चक्रवातकै रूपमा शक्तिशाली प्रणाली विकसित भएकाले त्यसभन्दा बढी हिमपात हुन सक्ने सम्भावना रहेको जलविज्ञान अनुसन्धान केन्द्रले जनाएको छ।
भारतको मौसम विज्ञान विभागका अनुसार नेपालतर्फ आउने चक्रवातको हावाको गति प्रतिघण्टा १५० देखि १७० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मौसम विभागका मौसमविद् विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलले भारी हिमपातसँगै ठूलो वर्षा हुन सक्ने देखाएको बताउनुभएको छ।
अर्णव चक्रवातको प्रभाव कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा पर्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार चट्याङ, हावाहुरी र भारी वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम छ। कृषि क्षेत्रमा पनि यसको असर पर्न सक्ने भएकाले धानबाली काट्ने र भित्र्याउने काम बाँकी रहेका किसानलाई सतर्कता अपनाउन भनिएको छ।
पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यहाँ पुगिसकेका व्यक्तिलाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। आवश्यक परे सवारी आवागमन बन्द गर्न र त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्राधिकरणले अनुरोध गरेको छ। जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति दिने कार्यसमेत स्थगित गरिएको जनाइएको छ। ट्रेकिङ एजेन्सी, पदयात्री र पथप्रदर्शकलाई सम्बन्धित निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ।








