काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको अर्णव चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने अवस्था सिर्जना भएको हो।
प्रारम्भिक पूर्वानुमानअनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म यसको प्रभाव रहन सक्नेछ। यद्यपि, प्रणाली अझै बंगालको खाडीमै रहेकाले यसको गति, तीव्रता र नेपाल नजिक आइपुग्दाको अवस्थाअनुसार वर्षाको मात्रामा परिवर्तन हुन सक्ने मौसमविद्ले बताएका छन्।
मौसमविद् पोखरेलका अनुसार नेपाल नजिक आइपुग्दासम्म यो प्रणाली कमजोर हुन सक्नेछ। धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
उच्च हिमाली क्षेत्रमा भने हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्ने भएकाले पर्यटकलाई सुरक्षित स्थानमा बस्न र माथिल्लो क्षेत्रतर्फ यात्रा नगर्न सुझाव दिइएको छ।
वर्षाका कारण पहिरो जान सक्ने सडक तथा क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। धान काट्ने समय भएकाले कृषि क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै किसानलाई मौसम विभागका अद्यावधिक सूचना हेरेर मात्रै धान काट्ने कामको योजना बनाउन सुझाव दिइएको छ।
मौसमविद्का अनुसार अक्टोबर र नोभेम्बरमा बंगालको खाडी तथा अरब सागरमा चक्रवात विकसित हुन सक्ने भएकाले मनसुन सकिएपछि पनि वर्षा हुनु असामान्य होइन। मौसमको अवस्थाबारे जानकारी लिन र आफ्नो यात्रा तथा अन्य गतिविधि तय गर्न विभागको आधिकारिक पूर्वानुमानमा भर पर्न आग्रह गरिएको छ।








