काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन माग गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय निर्वाचनलाई दलीय स्वार्थभन्दा नागरिक सेवा, सुशासन र विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन्।
पार्टीले स्थानीय तहको नेतृत्व चयन गर्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने माग गरेको छ।
उज्यालो नेपालले गैरदलीय निर्वाचनको अवधारणा दलीय व्यवस्थाको विरोध नभएको स्पष्ट पारेको छ। स्थानीय सरकारको मुख्य जिम्मेवारी जनसेवा र विकास निर्माण भएकाले स्थानीय नेतृत्व चयनमा दलगत प्रभाव कम गर्नुपर्ने पार्टीको धारणा छ।
ज्ञापनपत्रमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने उल्लेख छ। त्यसैले गैरदलीय निर्वाचन प्रणालीको सम्भाव्यता अध्ययन गरी आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ।
पार्टीका अनुसार गैरदलीय निर्वाचनको उद्देश्य नागरिकको राजनीतिक स्वतन्त्रता सीमित गर्नु नभई सक्षम, इमानदार र जवाफदेही नेतृत्व चयन गर्ने वातावरण बनाउनु हो।
उज्यालो नेपालले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्नसमेत माग गरेको छ।
यसका लागि मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गर्ने व्यवस्था, सुरक्षित र विश्वसनीय मतदान विधि तथा आवश्यक कानुनी र प्राविधिक पूर्वाधार तयार गर्नुपर्ने पार्टीको भनाइ छ।
ज्ञापनपत्रमा गैरदलीय स्थानीय निर्वाचनको विषयलाई सार्वजनिक बहसमा मात्र सीमित नराखी नीतिगत निर्णय र कार्यान्वयनतर्फ अघि बढाउनुपर्नेमा जोड दिइएको छ।संविधानको धारा २४६ अन्तर्गत निर्वाचन आयोगको संवैधानिक जिम्मेवारीलाई ध्यानमा राख्दै निर्वाचन प्रणाली सुधार र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक अध्ययन, सरोकारवालासँग परामर्श तथा सम्बन्धित निकायसँग समन्वय गर्न पार्टीले आग्रह गरेको छ।
उज्यालो नेपालले आगामी स्थानीय तहको निर्वाचनअघि नै गैरदलीय निर्वाचन प्रणालीबारे अध्ययन, कानुनी संशोधन र कार्यान्वयनका लागि समयबद्ध कार्ययोजना बनाउन माग गरेको छ।








