गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती डुबानमा परेपछि विस्थापित भएका परिवार अस्थायी टेन्टमा बसिरहेका छन्। घरमा बस्न नसक्ने अवस्था भएपछि स्थानीयहरू सुरक्षित स्थान भुइँथानमा सरेका हुन्।
स्थानीयका अनुसार शान्तिबजारमा करिब ५३ देखि ६० घर बाढीको डुबानमा परेका छन्। अहिले भुइँथानमा २७ वटा टेन्ट राखिएका छन्, जहाँ २७ परिवारले आश्रय लिइरहेका छन्।
बाढीपीडित इन्द्रबहादुर आले मगरका अनुसार असोज २५ गते आएको बाढीपछि स्थानीय विस्थापित भएका हुन्। नेपाल रेडक्रस सोसाइटीले असोज २७ गतेतिर टेन्ट उपलब्ध गराएपछि प्रभावित परिवारले अस्थायी बसोबासको व्यवस्था गरेका थिए।
‘शान्तिबजारका करिब ६० घर डुबानमा परेका छन्। अहिले हामी भुइँथानमा टेन्टमा बसिरहेका छौँ,’ आले मगरले भने, ‘स्थानीय सरकारले पनि राहत दिइरहेको छ। अहिले खान र बस्नका लागि व्यवस्था ठीकै छ।’
उनका अनुसार चिसो बढ्दै जाने भएकाले स्थानीय सरकारले विशेषगरी वृद्धवृद्धा र साना बालबालिका भएका परिवारलाई कोठा भाडामा लिएर बस्न आग्रह गरेको छ। त्यसका लागि प्रतिपरिवार मासिक १५ हजार रुपैयाँसम्म उपलब्ध गराउने भनिएको उनले बताए।
बाढीपीडित गौरी गुरुङले पनि अस्थायी शिविरमा खानपान र बसोबासको व्यवस्था तुलनात्मक रूपमा सहज रहेको बताइन्। प्रभावित परिवारलाई खाना, सुत्ने व्यवस्था तथा बालबालिकाका लागि कपडा उपलब्ध गराइएको उनको भनाइ छ।
‘अहिले हामीलाई मुख्य रूपमा खान र सुत्नका लागि व्यवस्था चाहिएको हो। त्यो भइरहेको छ,’ उनले भनिन्, ‘साना बच्चा र वृद्धवृद्धा भएका परिवारलाई कोठा भाडामा लिएर बस्न रकम दिने कुरा पनि भएको छ।’
बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार तथा विभिन्न निकायबाट राहत वितरण भइरहेको छ। तर, विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना चुनौतीपूर्ण देखिएको छ। अस्थायी टेन्टमा बसिरहेका परिवारलाई चिसोबाट जोगाउने, सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिग्रस्त घर तथा सम्पत्तिको यकिन विवरण संकलन गर्नुपर्ने आवश्यकता छ।
बाढीले घर डुबाएपछि विस्थापित भएका स्थानीय तत्कालका लागि राहत र अस्थायी आवासको भरमा छन्। उनीहरू सुरक्षित रूपमा घर फर्कन सक्ने अवस्था कहिले बन्छ भन्ने अन्योल अझै कायम छ।









