गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी र खेतीयोग्य जमिन नष्ट गरेपछि स्थानीय बासिन्दा बास र गाँसको चिन्तामा परेका छन्।

स्थानीय राजकुमार खत्रीका अनुसार शान्तिबजारमा रहेका ५८ घरधुरीका घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएका छन्। घरभित्रका सामान बाढीले बगाएको वा पुरेको छ। बाढीअघि बस्तीको अर्कोपट्टिबाट बग्ने नदी अहिले घरआँगनबाटै बगिरहेको उनले बताए।

ADVERTISEMENT

‘पुरै ध्वस्त भयो, केही छैन। ५८ घरधुरी रहेको हाम्रो बस्तीमा एउटा पनि घर काम लाग्ने अवस्थामा छैन। निकाल्न सकिने भनेको जस्तापाता मात्रै हो,’ खत्रीले भने, ‘धान, कुखुरा, टिभी, फ्रिज सबै नष्ट भएका छन्। अहिले हामीसँग केही बाँकी छैन।’

ADVERTISEMENT

बाढीबाट विस्थापित परिवारमध्ये २८ घरधुरीका सदस्य नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको पालमा बसिरहेका छन्। अन्य परिवारले साना टहरा बनाएर अस्थायी आश्रय लिइरहेका छन्। प्रभावित परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा र सरसफाइका सामग्री आवश्यक रहेको स्थानीयले बताएका छन्।

सरकारले प्रभावित परिवारलाई छ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने घोषणा गरेको जानकारी पाएको खत्रीले बताए। तर, घरसँगै दैनिक जीवनयापनका आधारसमेत गुमाएका परिवारलाई सामान्य अवस्थामा फर्कन कठिन हुने देखिएको छ।

बाढीले कृषिमा निर्भर परिवारको आम्दानीसमेत खोसेको छ। स्थानीय घारे गुरुङका अनुसार उनको दुई रोपनी जमिनमा लगाइएको खेती नष्ट भएको छ। बाख्रा, गाई र कुखुरा पालेर जीविकोपार्जन गर्दै आएका गुरुङले पशुपन्छी र खेतीमा भएको क्षतिले थप आर्थिक संकट निम्त्याएको बताए।

‘मेरो दुई रोपनी जमिनको खेती गयो। अरू क्षतिको त हिसाब नै छैन,’ उनले भने। शान्तिबजारका बासिन्दा अहिले अस्थायी आश्रयमा दिन बिताइरहेका छन्।

प्रभावित परिवारको पुनःस्थापनाका लागि क्षतिको यकिन विवरण संकलन, सुरक्षित आवासको व्यवस्था र जीविकोपार्जन पुनःस्थापना गर्ने कार्यक्रम आवश्यक देखिएको छ। राहतसँगै भविष्यमा यस्ता विपद्बाट जोगिन दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने चुनौतीसमेत छ।