काठमाडौं । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। त्यसपछि इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै पूर्वतयारी र प्रतिकार्य प्रभावकारी बनाउन निर्देशन दिएको हो।
इकाईका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोक्न र उनको सम्पर्क विवरण इकाईमा उपलब्ध गराउन भनिएको छ।
त्यसैगरी, हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी) सहित आवश्यक स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स र अन्य स्रोतसाधनको विवरणसमेत अद्यावधिक गर्न भनिएको छ।
विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई तत्काल उपचार उपलब्ध गराउन एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवा सहज र प्रभावकारी बनाउनुपर्ने पत्रमा उल्लेख छ।
इकाईले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य पठाउन पनि प्रदेशका केन्द्रलाई आग्रह गरेको छ।
सम्भावित विपद्का कारण स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन, आवश्यक जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा परिचालन गर्न यस्तो तयारीलाई प्राथमिकता दिइएको इकाईले जनाएको छ।








