काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमित तथा विशेष जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा तीव्रगतिमा सवारी चलाउने १०३ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८ जना, सिसीटिभी निगरानीबाट पहिचान भएका ४० जना र ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४ जना छन्।
त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने नौ जना, सवारीसाधनको अवस्था ठीक नभएका आठ जना र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि निगरानी तथा जाँचलाई निरन्तरता दिइएको हो।
उनले कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई दुर्घटना न्यूनीकरण गर्नु र नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको बताए।
ट्राफिक प्रहरीले सवारी चलाउँदा तोकिएको गति कायम गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक सङ्केतको पालना गर्न चालकलाई आग्रह गरेको छ।








