काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतीक्षित फिल्म ‘किङ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा शाहरुख रगत लतपतिएको अनुहार र ओठमा गुलाब च्यापेको फरक अवतारमा देखिएका छन्।
उनको आँखामा आक्रोश र हाउभाउमा रोमान्स झल्किने पोस्टरले फिल्ममा एक्सन र प्रेमको मिश्रण हुने संकेत गरेको छ। पोस्टर सार्वजनिक गर्दै शाहरुखले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मलाई फेरि याद आयो… म हत्यारा होइन, म प्रेमी हुँ।’
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म सन् २०२६ डिसेम्बर २४ अर्थात् क्रिसमसको अवसरमा प्रदर्शनमा आउने तय भएको छ। फिल्म रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सले संयुक्त रूपमा निर्माण गरेका हुन्।
फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूर, अभय वर्मा र अर्शद वारसीको अभिनय रहनेछ।
फिल्मको कथाले कठिन परिस्थितिमा बाँच्न संघर्ष गर्ने एक गुरु र उनका चेलाको यात्रालाई पछ्याउने बताइएको छ। विभिन्न रिपोर्टअनुसार फिल्मको बजेट करिब ३५० देखि ४०० करोड रुपैयाँ रहेको छ।








