काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा कीर्ते तथा जालसाजीसम्बन्धी मुद्दा दायर गरेकी छन्।

आफूलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्दा प्रयोग गरिएको पत्र र कागजात कीर्ते गरिएको आरोप लगाउँदै काफ्लेले मंगलबार मुद्दा दायर गरेकी हुन्।

ADVERTISEMENT

उनले सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, सन्तोष पाण्डे र पार्टीको लेटरहेड प्रयोग गरेका अजयकुमार झालाई विपक्षी बनाएकी छन्।

ADVERTISEMENT

काफ्लेका अनुसार उक्त पत्र पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना तयार गरिएको थियो। आफूले पार्टी नत्यागेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामा पनि नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएको उनको दाबी छ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसमा प्रदेशसभा सचिवालयले उनको पद रिक्त भएको सूचना जारी गरेको थियो।

पदमुक्तिको निर्णयविरुद्ध काफ्ले सर्वोच्च अदालत पुगेकी थिइन्। त्यसबेला सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

अहिले उनले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ लगायत प्रचलित कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला अदालतमा छुट्टै मुद्दा दायर गरेकी हुन्। आरोपको न्यायिक निरूपण हुन भने बाँकी छ।