हेटौँडा । प्रहरीले हेटौँडाबाट साढे ४२ किलो लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको वैशाली जिल्लास्थित महुवा टोलका २५ वर्षीय बिर्जुकुमार राय र २६ वर्षीय मन्जयकुमार राय रहेका छन्। प्रहरीले उनीहरूलाई भारतीय गाडीसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मंगलबार दिउँसो हेटौँडा बजारबाट पथलैयातर्फ जाँदै गरेको बीआरआई एपी ६०७३ नम्बरको गाडी हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटमा रोकेर जाँच गरिएको थियो। सो क्रममा चालकको सिटमुनि फल्सबटम बनाएर लुकाइएको अवस्थामा गाँजा फेला परेको हो।

ADVERTISEMENT

गाडीमा प्लास्टिकले प्याक गरिएका १९ पोका गाँजा लुकाइएको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल साढे ४२ किलो रहेको छ।प्रहरीले गाँजा, गाडी र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADVERTISEMENT