हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा धामीहरूले फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गरेका छन्।

स्थानीय पार्कीबाडा मष्टाका धामीले आफ्नै कम्मरमा सोटा भनिने फलामको डण्डा भाँचेर प्रदर्शन गरेका हुन्। देवीदेवताको पूजाआजा र परम्परागत नाचका क्रममा गरिएको यो प्रदर्शनले कार्यक्रममा उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो।

ADVERTISEMENT

कर्णालीका हिमाली जिल्लामा धामी नाच धार्मिक आस्था, स्थानीय विश्वास र मौलिक संस्कृतिसँग जोडिएको परम्परा हो। विभिन्न पर्व तथा धार्मिक अवसरमा धामी नाच प्रस्तुत गर्ने चलनले पुस्तौँदेखि चल्दै आएका सांस्कृतिक अभ्यासलाई निरन्तरता दिँदै आएको छ।

ADVERTISEMENT

माझ्खाडामा आयोजित कार्यक्रममा पनि स्थानीय देवीदेवताको पूजाआजा र परम्परागत विधिअनुसार धामी नाच प्रस्तुत गरिएको थियो। फलामको डण्डा भाँच्ने प्रदर्शनसँगै धार्मिक अनुष्ठानले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

स्थानीय काली थापाका अनुसार पूर्णिमाको अवसरमा प्रस्तुत गरिएको धामी नाचले स्थानीय धार्मिक विश्वास र सांस्कृतिक परम्पराको झल्को दिएको छ। यस्ता कार्यक्रमले समुदायलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने स्थानीयको विश्वास छ।

हिमाली क्षेत्रका यस्ता सांस्कृतिक गतिविधि स्थानीय समुदायको पहिचानका रूपमा रहेका छन्। धार्मिक अनुष्ठान, परम्परागत नाच र सामूहिक सहभागितामार्फत स्थानीयले आफ्नो संस्कृति जोगाउँदै आएका छन्।