काठमाडौँ । गत भदौ १० गते आएको रसुवागढी–भोटेकोशी बाढीबाट सर्वसाधारणको निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) सर्वेक्षणअनुसार घरजग्गा, व्यवसाय तथा अन्य निजी सम्पत्तिमा ठूलो क्षति पुगेको हो।
कुल क्षतिमध्ये घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यवसाय तथा प्रतिष्ठानमा ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहका ६ हजार ८१७ घरपरिवार तथा १ हजार ६३८ व्यवसाय प्रभावित भएका छन्। यसबाट ३२ हजार ८७२ जना प्रत्यक्ष प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ।
आर्थिक क्षतिमध्ये जग्गाजमिनमा सबैभन्दा बढी ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, घर रहेको जग्गामा १३ अर्ब २६ करोड र भवन निर्माणमा गरिएको लगानीमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।
बाढीले ४ हजार १५१ भवन तथा संरचनामा क्षति पुर्याएको छ। तीमध्ये २ हजार ९८९ संरचना पूर्ण रूपमा नष्ट भएका छन् भने ३ हजार १९४ संरचना पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। मर्मतपछि प्रयोग गर्न सकिने संरचनामध्ये ३३२ वटामा ठूलो र ३२० वटामा सामान्य मर्मत आवश्यक रहेको छ। मर्मतबिनै प्रयोग गर्न मिल्ने संरचना भने ९७ वटा मात्र छन्।
व्यवसायतर्फ थोक तथा खुद्रा व्यापारका ७७४ प्रतिष्ठान प्रभावित भएका छन्। आवास तथा खाद्य सेवाका ३३७ र कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६ प्रतिष्ठानमा पनि क्षति पुगेको छ। व्यवसायका सवारीसाधनमा मात्रै करिब ९४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
राष्ट्रिय योजना आयोगका अनुसार सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको प्रशोधन तथा विश्लेषण जारी छ। यो प्रारम्भिक विवरणमा सडक, जलविद्युत् लगायतका पूर्वाधार तथा उत्पादनशील, सामाजिक र वातावरणीय क्षेत्रमा भएको क्षति समावेश छैन। त्यसैले समग्र विपद् क्षतिको अन्तिम विवरण थप फराकिलो हुन सक्नेछ।








