काठमाडौं, भदौ १७ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बैंकिङ क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। नेपाल बैंकर्स संघका अनुसार बाढीबाट १२ वटा वाणिज्य बैंकका १७ शाखा प्रभावित हुँदा करिब ५५ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ।

बाढीबाट प्रभावित १७ शाखामध्ये १६ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। क्षतिग्रस्त सम्पत्तिमा बैंकका भवन, फर्निचर, विद्युतीय उपकरण, एटीएमलगायत संरचना समावेश छन्। नगद रकमलाई भने उक्त भौतिक क्षतिको विवरणमा समावेश गरिएको छैन।

ADVERTISEMENT

क्षतिमध्ये सबैभन्दा ठूलो हिस्सा कृषि विकास बैंकको त्रिशूली शाखामा परेको छ। बैंकको आफ्नै भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब ५० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ। त्यस्तै, सिटिजन्स बैंकको देवीघाट शाखामा १ करोड २० लाख रुपैयाँभन्दा बढी, माछापुच्छ्रे बैंकको टिमुरे शाखामा ५७ लाख ४४ हजार, हिमालयन बैंकको बेत्रावती शाखामा ५७ लाख ९२ हजार र सानिमा बैंकको टिमुरे शाखामा ४८ लाख ३९ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।

ADVERTISEMENT

बाढीबाट प्रभावित शाखाहरूमा ७८ हजार २०४ वटा निक्षेप खाता रहेका छन्। ती खातामा ४ अर्ब ४३ करोड १८ लाख रुपैयाँभन्दा बढी निक्षेप रहेको संघको तथ्यांक छ। त्यस्तै, २ हजार १२५ वटा कर्जा खातामार्फत करिब २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

बैंकका भल्ट, एटीएम र काउन्टरमा गरी करिब १९ करोड ५८ लाख रुपैयाँ नगद रहेको विवरणसमेत सार्वजनिक भएको छ। भल्टमा १७ करोड २४ लाख ५७ हजार, एटीएममा १ करोड १६ लाख ६३ हजार र काउन्टरमा १ करोड १७ लाख ७१ हजार रुपैयाँ रहेको बताइएको छ।

ADVERTISEMENT

यसैबीच, बाढीका कारण बैंकिङ क्षेत्रमा कार्यरत २६ कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल बैंकर्स संघले जनाएको छ। प्रभावित शाखाहरूमा बैंकिङ सेवा अवरुद्ध हुँदा ग्राहकको निक्षेप व्यवस्थापन, कर्जा असुली तथा शाखा पुनःसञ्चालनमा समेत चुनौती थपिएको छ।

बाढीबाट प्रभावित बैंक तथा शाखाहरूमा कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सानिमा बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलगायत रहेका छन्।

नेपाल बैंकर्स संघले बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रमा बैंकिङ सेवा पुनःसञ्चालनका विषयमा नेपाल राष्ट्र बैंकसँग छलफलसमेत गरेको छ।